शुक्रबार, बैशाख १८, २०८३

संवैधानिक परिषद् बैठक देउवा नगएपछि स्थगित

काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण संवैधानिक परिषदको बैठक आज बनि बस्न सकेन । आफूले भनेकै प्रधानन्यायाधीश सिफारिश हुनुपर्ने अडानमा रहनु भएका नेता देउवा मागबमोजिमको सहमति नआएपछि आजको बैठक स्थगित भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिशका लागि बोलाइएको आजको बैठकमा प्रतिपक्ष दलका नेता देउवाले आउने सम्भावना नभएको जानकारी गराएपछि स्थगित भएको हो ।
प्रमुख प्रतिपक्ष दलका नेता देउवाले ढिला गरी बैठकमा आउन नसक्ने जानकारी गराएपछि आजको बैठक भोलिसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । देउवाकै कारण संबैधानिकपरिषदको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

मंगलबार अपरान्ह बोलाइएको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले नभ्याएपछि स्थगित गरिएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भोलि बस्ने बैठकले भने प्रधानन्यायाधीश सिफारिसका लागि आवश्यक निर्णय लिने बताउनु भयो ।

पुस ५ गते बस्ने निर्णय गरिएको संवैधानिक परिषदको बैठक प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्न ढिलाइ हुने भएपछि प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी ओलीले मंगलबार बेलुका नौ बजेतिर प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई बुधबार बिहानका लागि बैठक बोलाउनु परेको जानकारी गराउनु भएको थियो । पार्टीको महासमिति बैठकको तयारीका कारण देउवा परिषदको बैठकमा उपस्थित हुन नसकेको उनको निजी सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश रिक्त हुनु एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण यही पुस १७ गते अवकाश पाउँदैछन । तर मंसिर महिना बित्न लाग्दासमेत देउवाको कारण बैठक नै बस्न सकिरहेको छैन । परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषदले पठाएको छ ।

जोशी यसअघि नै संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भइसक्नु भएको छ । समितिले अस्वीकृत गर्दा आपत्ति जनाएको कांग्रेसले जोशीलाई नै प्रधानन्यायाधीश सिफारिश गर्नुपर्ने बताउँदै आउनु भएको छ ।

देउवाले संबैधानिक परिषदलाई नै अनिर्णयको बन्दी बनाइ रहँदा बिचौलियाहरु भने फलना श्रीमानलाई प्रधानन्यायाधीश बनाउने भन्दै करोडौंको चलखेल गरिरहेका छन ।