शनिबार, बैशाख ०८, २०८१

निर्मलाको हत्या अनुसन्धानमा गल्ती भेटिए बर्दी खोल्न तयार : आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धानमा गल्ती भेटिए आफु बर्दी खोल्न तयार रहेको घोषणा गर्नुभएको छ । संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अइजीपी खनालले सो घोषणा गर्नुभएको हो ।

आइजीपी खनालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका विषयमा आफुले कुनै कमी कमजोरी नगरेको प्रष्ट पार्दै यदी आफूबाट गल्ती भेटिए बर्दी खोल्न तयार रहेको बताउनु भयो । समितिमा सांसदले हत्यारालाई पक्राउ गर्न नसके राजिनामा दिनुस सक्षम आइजी आउँछ भन्दै आक्रोस पोखेपछि आइजीपी खनालले प्रतिवाद गर्नुभएको हो ।

‘ निर्मला हत्याकाण्ड पछि निन्द्रा लाग्न छोडेको छ, एक रौ पनि गलत काम गरेको छैन । सिसिटिभी लगायतका प्रविधिको अभावमा छानविनमा समस्या आएपनि अहिलेसम्म कुनै दबाबमा काम गरेको छैन, निर्दोष व्यक्तिलाई फसाउने काम हुँदैन । नचाहिने काम गरेको पाईए संसदीय समितिमा ल्याएर बर्दी खोलिदिनुस,’ आइजीपी खनालको भनाई थियो ।

उहाँले अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको पनि प्रष्ट पार्नुभयो । हालसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४ महिना भन्दा बढी भैसकेपनि अहिले सम्म दोषीको पहिचान हुन सकेको छैन । निर्मला पन्तलाई न्याय मान्दै देशभर प्रदर्शन भैरहेको छ ।