शुक्रबार, बैशाख ०७, २०८१

निर्धारित समयमा बैठक शुरु नभएपछि बाहिरियौँ : प्रवक्ता श्रेष्ठ

धादिङ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बहिस्कार गरेको नभइ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भनी प्रचार गरिएको बताउनुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा पार्टी बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा शुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमतिअनुसार बैठक शुरु गर्ने भनिएको समयभन्दा १५ मिनेट कुरीसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संविधान कार्यान्वयनको क्रममा सरकारले गरेको कामको प्रसंशा गर्दै प्रवक्ता श्रेष्ठले समाज रुपान्तरणका लागि अझै प्रभावकारी काम गर्र्नुपर्ने सुझाव दिनुभयो ।