शुक्रबार, बैशाख १८, २०८३

प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका लागि ‘एक्सन रुम’ बनाउने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए ।

उनले ‘एक्सन रुम’ निर्माण गर्नका लागि दुई वटा कम्पनीले प्रस्ताव आह्वान गरेका छन् । मंगलबारसम्म एक्सन रुमका लागि प्रस्ताव आह्वान गरिएको थियो । नेपालमा त्यस्ता रुम बनाउनका लागि दुई वटा मात्र कम्पनी रहेकाले ती दुवैले प्रस्ताव पेश गरेको छन् ।

अहिले प्रस्तावको प्राविधिक पक्षबारे अध्ययन भइरहेको प्रवक्ता कुँवरले जानकारी गराए । कक्ष निर्माणका लागि कम्पनीको छनोट गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
उक्त समितिले कक्ष निर्माणका लागि कम्पनीको प्रस्ताव हेरेर स्वीकृत गरेपछि निर्माण प्रक्रिया शुरु हुने उनले जानकारी गराए । उनका अनुसार एक हप्ताभित्र ती दुईमध्ये एक कम्पनीलाई छनोट गरिसक्ने र छनोट गरिएको चार हप्ताभित्र उक्त रुम बनाइसकिने छ ।

प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा उक्त कक्ष बनाइने तयारी रहेको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुमको साथै आयोजना स्थान र प्रदेश मुख्यमन्त्रीको कार्यालयमा समेत उक्त यन्त्र जडान गरिने छ ।

कक्षमा जडान गरिएका यन्त्रमार्फत प्रधानमन्त्री ओलीले सिधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्नेछन् । ‘एक्सन रुमबाट प्रधानमन्त्रीले सिधै आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्न सक्नु हुनेछ’, उनले भने, ‘आयोजनाको प्रगति हेरेर प्रधानमन्त्रीले निर्देशन दिनु हुनेछ ।

यसैगरी प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रधानमन्त्री ओलीले उक्त एक्सन रुमबाट नै प्रदेश मुख्यमन्त्रीसँग भिडियो संवाद गर्ने जनाइएको छ ।