शनिबार, बैशाख ०८, २०८१

नेपाल र जापान सिधा हवाई सेवा १० वर्षपछि पुनः उडान सुरु गर्ने तयारी

काठमाडौँ । नेपाल वायुसेवा निगम करिब १० वर्षपछि जापानमा पुनः उडान सुरु गर्ने तयारीमा जुटेको छ । सोही सिलसिलामा जापानको ओसाकास्थित कान्साई इन्टरनेसनल एयरपोर्टका उच्च अधिकारी अहिले नेपालमा छन् । ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउको नेतृत्वमा नेपाल आएको टोलीले निगमका उच्च अधिकारीसँग सोमबार नेवानिको जापान उडानबारे छलफल गरेका छन् ।

नेपाल वायुसेवा निगम सन् २००७ पछि पहिलोपटक जापान उडानको तयारीमा जुटेको हो । निगमले यसअघि सन् १९९४ बाट जापानमा उडान थालेको थियो । काठमाडौं–सांघाई–ओसाका रुटमा साताको दुई उडान गर्दै यात्रुको मन जितेको निगमले १३ वर्ष सेवापछि जहाज अभावका कारण सो उडान कटौती गरेको थियो । ‘फेब्रुअरी पहिलो साताबाट हामी जापानमा सेवा थाल्ने तयारीमा छौँ,’ निगमका प्रवक्ता अशोक सिग्देल भन्छन्, ‘यसैको तयारीका लागि विमानस्थलको आधिकारिक टोली नेपाल आएको हो ।
छलफलमा विमानस्थलका अधिकारीहरूले निगमको पुनः जापानको उडानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जापानको रणनीतिक महत्वको विमानस्थल रहेकाले सो विमानस्थलमा निगमको उडान उपलब्धिमूलक रहने जापानी टोलीको भनाइ उद्धृत गर्दै निगमले जानकारी दिएको छ ।

ओसाकामा साताको ३ उडानबाट जापान प्रवेशको तयारीमा निगम छ । त्यसको ६ महिनापछि नारिता विमानस्थलमा उडान थाल्ने गरी काम भइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यसअघि नै सार्वजनिक गरिसकेका छन् । उनका अनुसार जापानमा साताको ६ उडानमार्फत नियमित सेवा प्रदान गर्ने योजना छ । त्यस अवस्थासम्म निगमका दुवै ठूला जहाज आफ्नो अधिकतम क्षमताअनुसार दैनिक १५/१६ घन्टासम्म उड्नेछन् । निगमले अहिले दुई ए३३०–२००, दुई ३२०–२०० र एक बी ७५७ जहाजबाट ८ गन्तव्य (मुम्बई, बैंलौर, दिल्ली, क्वालालम्पुर, हङकङ, बैंकक, दोहा र दुबई)मा उडान गरिरहेको छ ।

गत असारमा नेपाल र जापानबीच २५ वर्ष पुरानो द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको थियो । उक्त सम्झौताले नेपाली वायुसेवा कम्पनीलाई जापानका हानेदाबाहेकका सबै विमानस्थलमा उडान गर्न सक्ने बाटो खोलिदिएको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि अहिले ठूलो संख्यामा नेपाली जापानमा छन् ।