शुक्रबार, चैत १६, २०८०

विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्प निर्माणकार्य अन्तिम चरणमा

पर्वत । अग्ला र लामा झोलुंगे पुलका कारण चर्चामा रहेको कालिगण्डकी नदीमाथि बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्प निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालिगण्डकी माथि निर्माण भएको पुलसहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको लगानीकर्ताहरूले जनाएका छन् । कारोबार दैनिकका अनुसार विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिंग (स्विङ) , विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माणकार्य करिब ८० प्रतिशत सकिएको सञ्चालक राजु कार्कीले बताए ।

“हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिना सम्ममा सक्छौं ।” उनले भने, “हामीले ६ महिना अघि नै सक्ने लक्ष्य राखेका थियौं, प्रविधि र निर्माण सामग्री जुटाउँदा अलि समय लाग्यो ।” कालिगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो ।

कालिगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रविधि र सामग्री नहुदा पनि केही समय बढी लागेको सञ्चालक कार्कीले बताए । मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बञ्जी २०७३ वैशाखमा निर्माण सुरु भएको थियो ।

बञ्जीजम्पसँगै पर्यटकहरूलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्टसमेत सञ्चालनको तयारी भइरहेको छ । स्काई साइक्लिङ विश्वकै अग्लो र लामो हो । “मकाउमा दुई टावर जोड्न योभन्दा लामो भए पनि नेचुरल्ली बनाएको यो नै विश्वकै अग्लो हो,” कार्कीले दाबी गरे ।