शुक्रबार, बैशाख ०७, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कडा हुँदै भने अव हायर एन्ड फायरको नीति सरकारले लिन्छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख मसान्तभित्रै विकास निर्माणको काम सक्ने गरी हायर एन्ड फायरको नीति सरकारले लिने मुख्यमन्त्री गुरुङले बताएका छन् ।

राम्रो काम गर्नेलाई हायर गर्ने र नराम्रो काम गर्नेलाई फायर गरेर भए पनि विकास निर्माणमा सुशासनको प्रत्याभूति दिलाउने मुख्यमन्त्री गुरुङको भनाइ छ । ‘सकेसम्म वैशाख मसान्तभित्र, नभए जेठ १५ भित्र हामीले बजेट छुट्याएका योजनाहरु सक्छौं’ उनले भने, ‘मैले सचिवहरुलाई पनि निर्देशन दिएको छु, काम अहिल्यैदेखि थाल्नुपर्छ र जेठ १५ भित्रमा सक्नुपर्छ ।’

बिहीबारदेखि सुरु भएको पोखरा एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले केपी शर्मा ओली सरकारको ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि सुखद नभएको बताए । उनले सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएको बताए । ‘प्रदेश र स्थानीय सरकारको गतिमा पनि चित्त बुझाउने ठाउँ छैन । अर्कोतर्फ अन्य प्रदेशभन्दा सक्रिय देखिएको गण्डकी प्रदेशले विकास बजेट सोचे जसरी खर्च नगर्दा उही असारे विकासको नियती दोहोरिने त हैन भन्ने आशंका उत्पन्न भएको छ’ मुख्यमन्त्रीले भने, ‘विकास बजेट नै खर्च हुन सकेन भने समृद्धि कहाँबाट सम्भव हुन्छ ?’

सबै हिसाबले गण्डकी प्रदेशले समृद्धि हासिल गर्ने आधार रहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेशको विकासका लागि भारत र चीनको मुख नताक्ने भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘विकासका लागि हामी मोदीको मुख हेरेर बस्दैनौ, शी जिनपिङको पनि मुख हेरेर बस्दैनौं, जनताको मुख हेरेर विकास गर्ने हो ।’

रोम शहरको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले विकास एकैचोटी नआउने बताए । ५ वर्षमा सबै विकास नभए पनि कम्तीमा छनक भने दिने उनको भनाइ छ । ‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ । ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौं’ मुख्यमन्त्री गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन्, नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौं, नकी गैँडाको जिब्रो जस्तो खस्रो ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग लगानीका लागि आहृवान गरे । ‘यहाँ जुत्ता उत्पादन गरेर बेच्ने काम सरकारको होइन, यो निजी क्षेत्र र कतिपय अवस्थामा सहकारीले गर्नुपर्छ’ उनले भने, ‘प्रदेश सरकार उद्योग स्थापना र सञ्चालनको वातावरण बनाउन तयार छ ।’

उनले उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्वार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न तयार रहेको बताए । सिमेण्ट कारखाना लगायतका ठूला परियोजनामा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरे । मुख्यमन्त्री गुरुङले पोखरा आसपासमा अझै ५ वटा फाइभस्टार होटल खोल्न उनले निजी क्षेत्रसँग आहृवान गरे ।

प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु सञ्चालनमा आइसकेको भन्दैम मुख्यमन्त्री गुरुङले अब विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गरेका छन् ।