बुधबार, बैशाख १२, २०८१

टेलिकमको फोरजी विस्तारको लागि चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी

काठमाडौँ । नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कम्पनी जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन् ।

अघिल्लो वर्ष आहवान गरिएको टेन्डर ढिला गरी ठेक्का दिने तयारी भएको हो । टेलिकम स्रोतका अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसलाईले रेडियो एक्सेस नेटवर्क (र्‍यान) विस्तारको जिम्मा पाउनेछन्। परियोजनाको कुल लागत १९ अर्ब हुनेछ।

कोर नेटवर्क विस्तारका लाग चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। र्‍यान विस्तारका लागि जेटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए। रेडियो एक्सेस नेटवर्क (र्‍यान) विस्तारका लागि टेलिकमले नेटवर्क एक र नेटवर्क दुई गरी तत्कालीन ५ विकास क्षेत्रलाई दुई भागमा बाँडेर टेन्डर आहवान गरेको थियो। फोजी विस्तार परियोजना २६ महिनामा सिध्याउने टेलिकमको योजना छ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्चल विकास क्षेत्र राखिएको थियो। नेटवर्क दुईअन्तर्गत पूर्वाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र राखिएको थियो।

टेलिकम स्रोतका अनुसार नेटवर्क एकमा र्‍यान विस्तारका लागि जेटीईले करिब सय मिलियन डलर र सीसीएसईले करिब ८५ मिलियन डलरमा प्रस्ताव दर्ता गराएका थिए। नेटवर्क २ मा भने दुवै कम्पनीले क्रमशस् करिब ८९ मिलियन डलर र ८२ मिलियन डलरमा प्रस्ताव दर्ता गराएका थिए। कम मूल्यांकनको आधारमा सीसीएसईले ठेक्का पाउन लागेको हो ।

सीसीएसई आफैंमा टेलिकमसम्बन्धी उपकरण उत्पादन गर्ने कम्पनी होइन। उसले हालेको प्रस्तावमा हुवावेसँग सामान खरिद गरी जडान गर्ने सम्झौता राखेको स्रोतले जानकारी दिएको छ। यस्तै कोर नेटवर्कका लागि जेटीईले १ करोड ५६ लाख डलर, मिभिनिरले २ करोड १० लाख डलर र हुवावेले ३ करोड ८० लाख डलरमा प्रस्ताव दर्ता गराएका थिए। सबैभन्दा कम रकम कबुलेका कारण जेटीईलाई कामको जिम्मेवारी तयारी गरिएको हो।

गत पुसमा प्रस्ताव खोलेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी विस्तारसम्बन्धी फाइल अनुसन्धानका लागि मगाएको थियो। अख्तियारले कात्तिक ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै फोरजी विस्तारको प्रक्रिया अघि बढाउन स्वीकृति दिएको थियो।

अख्तियारको पत्र पाएपछि मन्त्रालयले टेलिकमसँग फोरजी विस्तारको कार्ययोजना माग गरेको थियो। मन्त्रालयले फोरजी विस्तारमा ठेक्का पाउने कम्पनीलाई सर्तसहित कामको जिम्मा दिन टेलिकमलाई निर्देशन दिने तयारी गरेको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार २६ महिनामा सिध्याउने गरी टेन्डर आहवान गरिएको परियोजना १२ देखि १४ महिनामा सिध्याउने गरी मात्रै कामको जिम्मा दिने तयारी छ। ‘बढी जनघनत्व भएको स्थानमा पहिला फोरजी विस्तार गर्ने अनि मात्रै कम जनघनत्व भएको पहाडी र हिमाली क्षेत्रमा फोरजी विस्तार गर्नुपर्ने सर्त राख्ने तयारी गरिएको छ,’ ती अधिकारीले भने, ‘सीसीएसआईले हुवावेसँग सामान किन्ने सम्झौता गरेकाले हुवावेलाई समेत बोलाएर सर्त मञ्जुर गराउने तयारी छ।’

ठेक्का दिने तयारी गरिएको कम्पनीले सर्त नमाने सोही मूल्यमा काम गर्ने गरी अर्को कम्पनीसँग सहमति गरी कामको जिम्मा दिन सकिने विकल्पमा समेत छलफल भएको ती अधिकारीले बताए। ठेक्का पाउने कम्पनीलाई सुरुवातमा फाइभजीमा समेत अपग्रेड गर्न सकिने गरी दुई ठाउँमा नमुनाको रूपमा काम गर्न लगाउने योजना टेलिकमको छ।