शुक्रबार, बैशाख ०७, २०८१

नेपाल र कम्बोडियावीच हवाई संचालन सम्वन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा सातामा १४ उडान गर्ने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन आज मात्रै नेपाल आउनुभएको हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पु¥याउने विश्वास लिइएको छ ।
सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४\१४ उडान हुनेछ । यस्तै कार्गो सेवामा भने कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा रहेको र आगामी जेठ अन्तिम सातादेखि उडानयोग्य हुने भएकाले हवाई सम्झौता थप महत्वपूर्ण हुने सहसचिव आचार्यको भनाइ छ ।

कम्बोडियाका ९६ दशमलव ९० प्रतिशत नागरिकले बौद्ध धर्म मान्ने भएकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागिसमेत सम्झौता दूरगामी महत्वको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको भनाइ छ । उहाँले सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक प्रक्रिया शुरु गर्ने र दुवै देशका विमान सेवा प्रदायकबीच आवश्यक व्यवस्थापन गरिने बताउनुभयो ।

कम्बोडियाले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नै उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको विमानस्थल आगामी जेठ मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सो उक्त विमानस्थलको धावनमार्गको कालोपत्र भइरहेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा टिप्पणी गर्नुभयो ।

“यो महत्वपूर्ण सम्झौता हो, यसलाई कार्यान्वयन गर्न निगमले आवश्यक प्रक्रिया तत्काल शुरु गरिहाल्छ”, उहाँले भन्नुभयो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र कम्बोडियाली समकक्षी चुच फोयुमबीच सांस्कृतिक आदानप्रदानसम्बन्धी द्विपक्षीय सम्झौतामासमेत हस्ताक्षर भएको छ ।