शुक्रबार, बैशाख १८, २०८३

नेकपाको प्रदेश कमिटीले पूर्णता पायो, जनवर्गिय संगठन एकताले पनि प्रवेश पाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सात वटै प्रदेश कमिटिलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वुधवार बसेको सचिवालय बैठकले सातै वटा प्रदेशका सदस्य चयन गरेको हो ।

यसअघि नै सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको नेकपाले सदस्यको पनि टुंगो लगाएको थियो । यसैगरी केन्द्रीय सदस्यको जिम्मेवारी बाडँफाटँ र जनवर्गिय संगठनको एकतालाई अगाडी बढाउने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले प्रदेश कमिटिलाई आजको बैठकले पूर्णता दिएको जानकारी दिनुभयो । उहाले अर्को बैठकले सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकतालाई अघि बढाउने निर्णय भएको बताउनु भयो । प्रदेश कमिटी सदस्यको नामावली भने विहिवारमात्र सार्वजनिक गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघिको बैठकले प्रदेश नं १ का इञ्चार्जमा भीम आचार्य, सहइञ्चार्जमा सावित्रीकुमार काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त गरेको थियो । त्यसैगरी प्रदेश नं २ का इञ्चार्जमा सत्यनारायण मण्डल र सहइञ्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल, प्रदेश नं ३ का इञ्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइञ्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन हुनु भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ र सहइञ्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली, प्रदेश नं ५ का इञ्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा नियुक्त गरिएको थियो ।

कर्णाली प्रदेश इञ्चार्जमा जनार्दन शर्मा र सहइञ्चार्जमा यामलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा र प्रदेश नं ७ का इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाउनु भएको थियो ।