काठमाडौ । महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाएकी छिन् । नेपालले सबैभन्दा बढी नाचेर नृत्यमा वल्र्ड रेकर्ड राखेकी हुन् । उनले शुक्रबार बिहान ७ बजेबाट बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भइन् ।
गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य नरोकेको र नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको छ । १७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ ।
गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

