शनिबार, बैशाख ०८, २०८१

स्व नेता बाँस्तोलाको योगदान महत्वपूर्ण : सभापति देउवा

काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीतिक क्षेत्रमा स्व नेता चक्रप्रसाद बाँस्तोलाको योगदान महत्वपूर्ण भएको बताउनुभएको छ । स्व बाँस्तोलाको स्मृतिमा आज यहाँ झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ४५औँ दिनको श्रद्धाञ्जलि सभामा सभापति देउवाले मुुलुकको शान्ति प्रक्रियामा स्व बाँस्तोलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

लामो समय बिरामी पर्नुभएका नेता बाँस्तोलालाई उहाँकी धर्मपत्नी कुसुमले गर्नुभएको सेवा र धैर्यताको प्रशंसा गर्दैै सभापति देउवाले स्व बाँस्तोलाकी धर्मपत्नीलाई पार्टीको केन्द्रीय समितिमा भूमिका दिन आफू तयार रहेको घोषणासमेत गर्नुभयो ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले स्व बाँस्तोलाले मुुलुकको शान्ति प्रक्रियामा खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँ प्रष्ट विचार र निर्णय लिन सक्ने बहुमुखी प्रतिभाशाली नेता भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले स्व बाँस्तोलाको निरङ्कुशताविरुद्धको आन्दोलनमा विशिष्ट योगदान रहेको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि गर्न उहाँका सद्गुणलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्व बाँस्तोला काम र व्यवहारले क्रान्तिकारी नेता भएको उल्लेख गर्दै पार्टी गतिशील भएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यहरु डा रामशरण महत, प्रदिप गिरि, गुरुराज घिमिरे, केशवकुमार बुढाथोकी, मीना पाण्डे, प्रवक्ता विश्वप्रकाश शर्मालगायतले स्व नेता बाँस्तोलासँगका भेटका अनुभवको स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।