शुक्रबार, बैशाख १८, २०८३

उत्कर्षमा विप्लव र प्रकाण्डविचको विवाद पार्टीभित्र दुई समानान्तर कमिटी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ ।
उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो कार्यक्रमको नेतृत्व पार्टीका दोस्रो वरियताका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका थिए ।

काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाभित्र गुट हावी भएको छ । एउटा गुटको नेतृत्व विप्लवले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रकाण्डले गरेका छन्, जसको प्रभाव पार्टीका सबैजसो जनवर्गीय सङ्गठनमा विप्लव र प्रकाण्ड समूहका छुट्टा–छुट्टै कमिटी बनेका छन् । पत्रकारहरूको सङ्गठनबाट उत्पन्न भएको विवाद आएसँगै अरू सङ्गठनमा भएका विवाद पनि बाहिर आएका छन् । पछिल्लो समय सबैजसो जनवर्गीय सङ्गठनमा समानान्तर कमिटी बनेका छन् ।

पार्टीको नेतृत्व गरेका विप्लव भूमिगत शैलीमा सक्रिय छन् । उनी भूमिगत भएपछि पार्टीमा दोस्रो वरियताका नेता प्रकाण्ड सक्रिय देखिएका छन् ।

तर फेरि पछिल्लो समय जनवर्गीय सङ्गठनको नेतृत्वको विषयलाई लिएर नै नेकपाभित्र चर्को विवाद सिर्जना उत्पन्न भएको छ । पार्टी निकट स्वास्थ्यकर्मीहरूको सङ्गठनमा पनि समानान्तर कमिटी बनेको छ । त्यस्तै युवा, विद्यार्थी, पत्रकार लगायतका जनवर्गीय सङ्गठनमा पनि समानान्तर कमिटी बनेका छन् ।