शुक्रबार, बैशाख १८, २०८३

कोटेश्वर–कलंकी सडकको निर्माण कार्य सम्पन्न,सरकारलाई हस्तान्तरण हुँदै

काठमाडौँ । चिनियाँ सरकारको सहयोगमा निर्माणधिन कोटेश्वर–कलंकी सडकको मुख्य निर्माण कार्य सम्पन्न भएको छ ।
सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।
दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो ।

‘सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ’, उनले भने, ‘सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।’ सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रोचरणको कालोपत्रे भएको योजनाले बताएको छ । दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ । उनले भने, ‘केही दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।

यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एकएक लेनको सर्भिस ट्र्याक (सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो । यसमा केहि स्थानमा मात्र काम अघि बढेको छ ।

सर्भिस ट्र्याकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ ।

उनले भने, ‘नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ ।’ चारवर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण शुरु भएको थियो ।

गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । वि.सं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एकवर्ष अवधि थप गरेको थियो ।

थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना रहेको छ । नेपालमा पहिलो पटक बनेको ‘अण्डर पास’ (भूमिगत सडक) लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ । सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ ।

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन् । सडक हस्तान्तरण हुनु पहिलेनै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ ।

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन् ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्र्याक समेत गर्दा सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौँ र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ ।
नगर प्रहरी थप्दै ललितपुर महानगरपालिकाले ५० नगर प्रहरी थप गर्ने भएको छ । जनशक्ति पर्याप्त नभएकाले थप गर्न लागिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताए ।