शुक्रबार, बैशाख १८, २०८३

राजपामा बढ्यो विवाद: असन्तुष्ट पक्षको छुट्टै भेला

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि असन्तुष्ट पक्षले सोमबार छुट्टै भेला गर्दै छन् । पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्दै अध्यक्ष मण्डलका सदस्य अनिल झाले असहमति जनाएका थिए ।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तथा नेपाल सद्भावना पार्टी (नेसपा) का नेताहरूले छुट्टै भेला गर्दै संयोजक महतोविरुद्ध मोर्चाबन्दी गर्न जुटेका हुन् । तमलोपा र नेसपाका पदाधिकारी र केन्द्रीय सदस्यहरू सो भेलामा सहभागी हुने स्रोतले बतायो ।

भेलामा ठाकुर तथा झा अनुपस्थित रहनेछन् । यद्यपि यसको तयारी र महतोविरुद्ध मोर्चाबन्दी गर्न ठाकुर र झाले नै उचालेका छन् । भेलाको आयोजना गर्न लागेका राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले यसलाई ‘कार्यकता भेटघाट’ भएको बताए । तत्कालीन तमलोपाको बिजुलीबजारस्थित पार्टी कार्यालयमा हुने भेला विशेष नभई भेटघाट मात्रै भएको उनले दाबी गरे । लाल तत्कालीन तमलोपा नेता हुन् ।

‘पार्टी तथा पार्टी नेताविरुद्धमा मोर्चाबन्दी नभई कार्यकर्ता भेटघाट मात्रै हो, मधेसबाट काठमाडौं आउने नेतासँग नियमित भेटघाट एवं छलफल मात्रै हो’ लालले भने, ‘राजपाको केन्द्रीय कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेता बस्ने ठाउँ मात्रै भएको र पार्टी एकता भएदेखि आफूले बिजुलीबजार कार्यालयबाटै कार्यकर्ता भेटघाट गरिरहेकाले यसलाई अन्यथा लिनुहुँदैन ।’

पार्टी संयोजक पदबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई हटाएर महतोलाई चयन गर्नु तथा ठाकुरविरुद्ध अपाच्य प्रचार गर्नुप्रति लालले असहमति जनाए । पार्टीको महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर अगाडि बढ्ने सहमति भएको तर त्यसमा हेरफेर गरेपछि उनले असन्तुष्टि जनाए ।

आउँदो ७, ८ र ९ वैशाखमा राजपा नेपालको एकता महाधिवेशन तोकिएको छ । पार्टी र नेता त्यसको तयारीमा जुटिसकेका छन् । लालले एकता महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मान्ने सहमति भए पनि त्यसको उल्लंघन भएको बताए ।