शुक्रबार, बैशाख १८, २०८३

राति आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

काकडभिट्टा । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको थियो ।

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।