शुक्रबार, बैशाख ०७, २०८१

एकीकृत घुम्ती शिविरबाट दुई हजार लाभान्वित

सुसुर्खेत। जिल्लाको सुदूर पूर्वीक्षेत्रको सिम्ता गाउँपालिकामा बिहीबारदेखि सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा दुई हजार २२० सेवाग्राही लाभान्वित भएका छन् ।

उक्त गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गरिएको गरिएको दुई दिने सो शिविरमा ३८६ ले नागरिकता, ४१५ ले मतदाता परिचयपत्र, ३९० ले पशुसेवा, ४३५ ले कृषिसेवा, ५७१ ले स्वास्थ्य सेवा र २३ ले ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसीले बताउनुभयोे । “शिविरमै हामीले एकीकृत सार्वजनिक सुनुवाइसमेत गरेका थियौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकलाई जिल्ला तथा स्थानीय सरकारको विकासको गतिविधि थाहा पाउन सहज भएको छ ।”

शिविरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरले विपत् व्यवस्थापनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरेको थियो भने जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

अध्यक्ष केसीका अनुसार सबै सेवा प्राप्त नहुने स्थितिमा एकीकृत शिविरबाट जनताले सोचेभन्दा बढी सेवा पाउँदा उनीहरु खुशी भएका थिए । शिविरमा सुर्खेत जिल्ला प्रशासन, जिल्ला निर्वाचन, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, मेहलकुना अस्पताल, उक्त गाउँपालिकामा रहेका कृषि, पशु, शिक्षा, महिला तथा बालबालिका एकाइको पनि सहभागिता थियो ।