Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने मन्त्री अधिकारीको प्रतिवद्धता

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।
सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उनले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताए । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै उनले अरु दोषी देखिए पनि कारबाही गर्ने बताए ।

समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा। नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी रानालगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया