काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यालय समयमा हुने बैठकको भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कार्यालय समयमा गरेको कामको तपाईले तलब लिनु भएको छ । त्यसकारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस् ।
ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने पनि बताएका छन् । सबै क्षेत्र हरेक दिन रचनात्मक काम सहित एक कदम अघि बढ्नु पर्ने ओलीको भनाई छ । ‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।’
मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताई काममा प्राथमिकता दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । ‘आफै गहन अध्ययन गर्नुहोस् । अवधारणा बनाउनुहोस । त्यसपछि सुझाव लिनुहोस’, ओलीले भने, ‘सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।
प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्न गरे । त्यसैगरी नेपाल वायु सेवा निगम घाटामा जानुको कारण बारे पनि प्रधानमन्त्री ओलीले चासो राखेका छन् । उनले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन कृषि वन बढाउन आग्रह गरे । ‘अनुपत्पादक जातको वृक्षारोपण होइन । उत्पादन दिने खालका फलफूलका विरुवा रोप्न प्रेरित गर्नुहोस्,’ ओलीले भने, ‘यस्तो गरेमा फलजति जनताको बोटजति सरकारको हुन्छ ।
सहकारीहरु मार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त दिदै प्रधानमन्त्री ओलीले त्यसै अनुसार नेपालमा पनि वृहत उत्पादनमा जोड दिनु पर्ने बताए । ‘वृहत मात्रामा कृषि उत्पादन गरौं । जसलाई निर्यात गर्न पनि सजिलो हुन्छ’, उनले भने, ‘अहिलेको हाम्रो न्यून उत्पादनले गर्दा बजारमा पुर्याँउदा खर्च पनि नधान्ने स्थिति सृजना भएको हो ।’
प्रधानमन्त्री ओलीले कृषि, उद्योग,पर्यटन,सेवाका क्षेत्रलाई आधुनिकिकरण गरेर रोजगारी सृजना गर्नु पर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने उल्लेख गरे । ‘यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यस्ता कुरालाई हटाउनु पर्दछ’, उनले भने ।
समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरे ।
यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले प्रगति विरण गरे ।

