शुक्रबार, बैशाख ०७, २०८१

आज हरिबोधनी एकादशी: नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौं । हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिनुभयो ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ ।