बिराटनगर । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको अधिनायकवाद बढेपछि कोइराला परिवारले प्रतिवादको रणनीति अख्तियार गरेको छ ।
पार्टीमा आफूखुसी निर्णय गर्दै देउवाले प्रजातन्त्रिक पद्धतीकै हुर्मत लिन थालेपछि कोइराला परिवारले एकजुट भएर प्रतिवादको सन्देश दिएको हो ।
गिरिजा कोइराला (जीपी) फाउन्डेशनले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका तीन हस्ति एउटै मालामा अटाएर देउवालाई सन्देश दिएका छन । फाउण्डेशनले गरेको त्यो स्वागतले राजनीति वृत्तमा निकै चर्चा मात्र पाएको छैन, बुढानिलकण्ठमा भुकम्प गएको छ ।
कांग्रेस महामन्त्री डा सशांक कोइरालासहित केन्द्रीय सदस्यद्वय शेखर र सुजातालाई एउटै माला पहिर्याएर स्वागत गरिएको दृष्य रोचकसँगै बुढानिलकण्ठका लागि अत्यन्तै घोचक बन्न पुगेको छ । कोइराला परिवार एकजुट भएर पार्टीलाई अघि बढाउन आग्रह गर्दै आयोजकले तीन जना नेतालाई एउटै माला लगाई दिएका थिए । जीपी कोइराला फाउन्डेशनलाई धन्यबाद दिंदै केन्द्रीय सदस्य शेखरले कोइराला परिवार हिजो, आज र भोलि एकै ठाउँमा हुने घोषणा गर्नुभयो ।
‘हामी तीन जना कोइरालाहरु राजनीति क्षेत्रमा छौं । तर तीनतिर फर्केका छौं भन्ने तपाईहरुलाई लागेको होला, आजको कार्यक्रमले तपाईको भ्रम निवारण भयो भन्ने मलाई लागेको छ,’ शेरखले भन्नुभयो । कोइराला परिवार पहिलेदेखि अहिलेसम्म र भोलिका दिनमा पनि एकजुट भएर जनताको सेवामा लाग्ने उहाँको घोषणा थियो ।
वीपी, गणेशमान, गिरिजा र सुशील कोइरालाको सपना पूरा गर्न कोइराला परिवारका सवै सदस्य एक ठाउँमा उभिने उहाँको भनाई थियो । कांग्रेसले प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्न नसकेको पनि कोइरालाले बताउनु भयो । उहाँले संसदमा कांग्रेसको उपस्थिति नै नभए जस्तो यथार्थबोधसमेत गराउनु भयो । उहाँले बिराटनगरको दृष्य कांग्रेस बचाउन र सुधार गर्न भएको बताउनु भयो ।
केहि दिनअघि मात्र कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कोइराला परिवार जमघट भई कांग्रेसका वर्तमान अवस्था र सभापति देउवाको कार्यशैलीप्रति छलफल समेत चलाएका थिए । सो छलफललाई लिएर आफूबिरुद्ध घेरावन्दी भन्दै देउवाले आपत्ति जनाउनु भएको थियो ।@janatatimes

