काठमाडौं । नेपाल सरकारले इजरायलका लागि डाक्टर अञ्जान शाक्यलाई नेपाली राजदूत सिफारिस गरेको छ । गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राजदुत सिफारिश गरेको हो ।
इजरालयका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएकी डाक्टर अञ्जान शाक्य सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएकी महिला हुनुहुन्छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहनुभएकी शाक्यसँग अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको पनि अनुभव छ ।
एक दशक भन्दा बढी समयदेखि परराष्ट्रमामिला सम्वन्धि कार्यमा क्रियाशील शाक्यले नेपाल ओमेन च्याम्वरको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि निकै भूमिका खेल्नु भएको छ । लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील उहाँले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’गायत आधा दर्जन पुस्तकको सम्पादनगरिसक्नु भएको छ ।
व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएकी शाक्यले पद्मकन्या कलेजमा २०५२ सालदेखि करीब एक दशक प्राध्यापन गर्नुभएको थियो । चर्चित गायिका समेत रहनु भएकी शाक्यले करीब १५ वर्ष अघि नेपाल टेलिभिजनकी समाचार बाचिका समेत भएर काम गर्नुभएको थियो ।
‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत गाउनु भएकी शाक्य अहिले पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापनरत हुनुहुन्छ ।

