शुक्रबार, चैत १६, २०८०

परराष्ट्रमन्त्री ज्ञवालीको जापान भ्रमन : रोजगारी दिलाउन पहल गर्ने

काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताउनु भयो ।

जापानी विदेशमन्त्रीको निमन्त्रणामा मंसिर २ गतेदेखि एक साता लामो भ्रमणका क्रममा ज्ञवाली जापान जाँदैछन् । सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल भइरहेको बताउनु भयो ।
मन्त्री ज्ञवालीले कुवेत लगायत खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको रोक भने तत्काल खुलाउने अवस्था नरहेको बताए । उनले ती मुलुकबाट नयाँ व्यवस्था सहित घरेलु कामदार सम्बन्धी सम्झौता गर्न प्रस्ताव आएकाले श्रम मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनु भयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि छिट्टै पठाउने बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि राजदूत खाली रहेको भन्दै त्यो पनि छिट्टै नियुक्त गरिने जानकारी दिए । ‘सकेसम्म राजदूतावासहरु खाली नहुन भन्ने हुन्छ । तर, कहिलेकाहीँ काम गर्दा गर्दै भ्याइन्न’, मन्त्री ज्ञवाली भन्छन्, ‘बाँकीमा पनि क्रमश गछौं ।

यसअघि यही कात्तिक २५ गते मात्रै सरकारले भारत, मलेसिया र युएईका लागि क्रमश निलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ । तर, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि पद रिक्त छ ।

सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णयबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले त्यो स्वभाविक भएको बताए । मन्त्रालयको कामका लागि सरकारले फिर्ता बोलाउन सक्ने भनाइ थियो ।