शनिबार, बैशाख १९, २०८३

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक सेवामा

दाङ। तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित रु ५९ हजार ८४०रकममध्ये रु ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२स्थित उक्त समाजमा रहेका पाँच वृद्धवृद्धालाई न्यानो कपडाका साथै कार्यालय व्यवस्थापनका लागि कम्प्युटर उपलब्ध गराइएको देउसी–भैलोको नेतृत्वकर्ता तुलसीपुरमा स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएकी शोभा खत्रीले जानकारी दिनुभयो ।

अन्य बाँकी रकम पनि सामाजिक काममा लगाउने जानकारी दिँदै उहाँले धेरैपछि आफ्नो जन्मभूमिमा कला र संस्कृतिको संरक्षणका लागि देउसी–भैलो खेल्ने अवसर प्राप्त भएकामा खुशी लागेको र सङ्कलित बाँकी रकम सामाजिक काममा लगाउन पाउँदा झनै खुशी भएको बताउनुभयो । सहभागी महिलाले तुलसीपुरका हिम्मती छोरी तथा बुहारी देउसी भैलो समूहको ब्यानरमा देउसी–भैलो खेलेका थिए ।