शनिबार, बैशाख १९, २०८३

भ्रष्टाचार नियन्त्रण गर्छौं : मुख्यमन्त्री राउत

सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आज यहाँ आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्य समस्या कुशासन, भ्रष्टाचार र अनियमितता हो त्यसलाई नियन्त्रण गरिन्छ भन्नुभयो ।

प्रदेश नं २ को आठ वटै जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै त्यसलाई समाप्त गर्ने उहाँले बताउनुभयो । उहाँले प्रदेशमा सुशासन कायम गर्न सुशासनसम्बन्धी विधेयक प्रदेशसभामा लग्ने जानकारी दिनुभयो ।

कार्मचारी नहँुदा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “कर्मचारी माग्दा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउँदैन् । पठाए पनि केही महीना अवकाश हुन बाँकी रहेका कर्मचारी पठाउने गर्छ ।”

“प्रदेश नं २ मा पाँच हजार कर्मचारी आवश्यक छ । तर कर्मचारी नहँुदा नीति कार्यक्रम लागू हुन सकेको छैन,” राउतले भन्नुभयो, “जनता प्रदेश सरकारले केही गरेन भन्छ । तर कर्मचारी नै नभएपछि कसरी काम गर्ने ?” उहाँले सङ्घीय सरकारले कर्मचारी नदिए करारमा कर्मचारी नियुक्त गर्ने बताउनुभयो ।

मधेश आन्दोलनका घाइतेलाई तीन लाख

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका कविलासी नगरपालिका–१ पिपरियाका रामनाथ रायका २२ वर्षीय छोरा गुडुकुमार रायलाई प्रदेश सरकारले तीन लाख रकम प्रदान गरेको छ ।

नोकैल्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले घाइते रायलाई तीन लाखको चेक प्रदान गर्नुभयो । मधेश आन्दोलनका क्रममा २०७२ साल मङ्सिर १७ गते सर्लाहीको नवलपुरमा आयोजना गरिएको जनसभामा प्रहरीको गोली लागी उहाँ घाइते हुनुभएको थियो ।

सोही कार्यक्रममा मुख्यमन्त्री राउतले दीपावलीको दिन ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा आगलागीमा परी मृत्यु भएको एक बालक परिवारलाई दुई लाख सहयोग गर्ने घोषणा गर्नुभयो । दीपावलीको अवसरमा मैनबत्ती बालेर गाडीभित्रै राखेर सुतेको अवस्थमा आगलगी हुँदा रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको जलेर मृत्यु भएको थियो ।