शनिबार, बैशाख १९, २०८३

हत्यारा पत्ता नलागेपछि निर्मलाका बाबु–आमा अनिश्चितकालिन धर्नामा

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।
निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न भएका हुन् । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले बताए । महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ । ‘अब वार या पारको आन्दोलन गर्नुपर्ने अवस्था आयो,’ छलफलमा महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘हत्यारा पत्ता लगाउन स्थानीयस्तरदेखि केन्द्रसम्म दबाब दिन आवश्यक छ ।’ उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले अझै पनि प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको उनले बताइन् ।

निर्मला घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त गरिएका छन् । तर अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही गरेर मात्रै नहुने अधिकारकर्मीहरू बताउँछन् । ‘उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ,’ महिला अधिकारकर्मीले भने, ‘सरकारलाई यसका लागि पनि दबाब दिनुपर्ने भएको छ ।’

यसअघि नागरिक संघर्ष समितिले दसैं र तिहारका बीचमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको थियो । चाडपर्वका बेला सर्वसाधारणलाई अप्ठेरो हुने भन्दै आन्दोलन रोकिएको थियो । त्यसअघि धर्ना, जुलुस र प्रदर्शनलगायत विभिन्न कार्यक्रम भइसकेका छन् । ‘अब दबाबमूलक आन्दोलनको विकल्प छैन,नागरिक संघर्ष समितिकी सदस्य निर्मला जोशीले भनिन्, ‘निर्मलाको परिवारले सुरु गर्ने धर्नामा हाम्रो पनि साथ र सहयोग रहनेछ ।

साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–२ र १८ सीमामा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भेटिएकै दिनदेखि निर्मलाका परिवार र स्थानीय महिलाहरूले अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए ।