रामेछाप । रामेछाप जिल्लामा उत्पादन भएको अर्गानिक किबी बजारमा पुगेको छ । स्वास्थ्यको लागि निकै फाइदाजक फलको रुपमा लिइने किबी बजारमा पुगेको हो । रामेछापको दोरम्बा, उमाकुण्ड, गोकुलगंगा लगायतको गाउँपालिकामा किसानहरुले केही बर्षदेखि व्यवसायिक रुपमा खेती सुरु गरेका छन् । कम लगानीमा नै राम्रो आम्दानी हुने भएपनि किसानहरु किबी आकृर्षित भएका छन् । रामेछापमा उत्पादन भएको किबी स्थानीय बजारदेखि राजधानी काठमाडौं हुँदै विदेशसम्म पुग्ने गरेको छ ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–१ डडुवामा पनि किसानहरुले केही बर्षदेखि व्यवसायिक किबी खेती सुरु गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । चिसो ठाउँमा हुने भएकाले दोरम्बाको माथिल्लो क्षेत्रमा किबी खेती गर्ने क्रम बढ्दै गएको छ । दोरम्बा गाउँपालिका–१ डडुवाका किसान राङदान तामाङले केही बर्षयता किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै निजी ९० रोपनी जग्गामा उत्पादन गरेको किबी बजारमा ल्याउनुभएको छ ।
काठमाडौंको बौद्ध, भक्तपुर लगायतको पसलहरुबाट किन्न सकिने गरी बजार व्यवस्थापन गरेको नेपाली बजारमा भारतीय किबी विक्रि हुँदै आएको बताउदै उहाँले भारतीय किबीको तुलनात्ममा नेपाली किबी महंगो मानिए पनि नेपालीहरुले पनि किन्न सक्ने गरी बजारमा पठाइएको उहाँले बताउनुभयो ।

