मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली मुलका अमेरिकन ह्यारी भण्डारी विजयी भएका छन् ।
भण्डारीको जितसँगै अमेरिकामा नयाँ इतिहास कायम गरेका छ । नेपाली मुलका अमेरिकनले यो स्तरको अमेरिकी चुनाव जितेको यो नै पहिलो पटक हो । भण्डारी पहिलोपटक राज्यस्तरको अमेरिकी संसद छिर्ने पहिलो नेपाली हुने भएका छन् ।
भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा निर्वाचित भएका हुन्, अमेरिकाको केन्द्रीय संसदमा निर्वाचित भएका होइनन् । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।
हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् । भण्डारी त्यही डेलिगेट्सका रुपमा निर्वाचित भएका हुन् ।
सन् २०१४ को चुनावमा मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा डेमोक्रेटिक पार्टीको बहुमत ल्याएको थियो । कुल १४१ मध्ये ९२ सिट डेमोक्र्याट्सले जितेका थिए भने ४९ सिट डेमोक्र्याट्सले जितेका थिए । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सको पदावधि ४ बर्षको हुनेगर्छ ।
मेरिल्याण्ड राज्यको सिनेटमा भने ४७ सिट रहेका छन् । सिनेटमा पनि डेमोक्र्याट्सकै बहुमत छ ।
चुनावमा मेरिल्याण्ड राज्यको संसदको प्रतिनिधिसभामा विजयी कति मत ल्याए ?
अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको संसदको प्रतिनिधिसभामा ह्यारी भण्डारी विजयी भएका छन् । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ बाट भण्डारी २० हजार ९ सय ७७ मत ल्याएर विजयी भएका हुन् । १ लाख १९ हजार ३ सय १ मत खसेकोमा भण्डारीले १७ दशमलव ६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।
३ जना निर्वाचित हुने मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ मा भण्डारीसहित डेमोक्रेटिक उम्मेदवार एरिक ब्रोमवेल र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलर विजयी भएका छन् ।
एरिक ब्रोमवेल २१ हजार ३ सय ६३ मत र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलरले २० हजार ८१ मत ल्याएएर विजयी भएका छन् ।
अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकले चुनाव जितेको इतिहास नभएको सन्दर्भमा भण्डारीले चुनाव जितेर अमेरिकामा नयाँ इतिहास कायम गरेका छन् ।
नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारीले चुनाव जितेमा एउटा नेपाली मुलको युवा अमेरिकी राज्यको संसद भवन छिर्नेछ ।

