शुक्रबार, चैत १६, २०८०

संगठनको मर्यादामा आँच पु-याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

ठिनी, मुस्ताङ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

“इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उहाँले भन्नुभयो । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् ।