शनिबार, बैशाख १९, २०८३

ऐतिहासिक तथा सांस्कृतिक सम्पतिको जर्गेना गर्न मन्त्री गुरुङको जोड्

तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा शनिवार सहभागी हुँदै उहाँले बेदव्यास भूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले बेदव्यास भूमिको विकासका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै प्रदेशको नीति तथा कार्यक्रममा समेत यो क्षेत्रलाई समेटिएको जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतका त्रिवेणी धाम, देवघाट धाम, मुक्तिनाथ धाम, गलेश्वर धाम लगायतलाई प्रदेश सरकारले विशेष चासोका साथ हेरिरहेको बताउँदै उनले गण्डकी प्रदेशबाटै धार्मिक, सांस्कृतिक विविधताको उत्पत्ति भएको हुँदा यसलाई सुन्दर समाज निर्माण गर्ने अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा मन्त्री गुरुङले व्यास गुफाकोसमेत अवलोकन गरे । मन्त्री गुरुङलाई प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाले व्यास गुफा क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

कात्तिक १ गतेदेखि शुरु भएको महामिलन पर्वमा भक्तजनको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । बेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाँझ चिनाउने उद्देश्यले आयोजित महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।