शुक्रबार, चैत १६, २०८०

अब सरकारको कामको गति तीव्र हुनेछ : अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कामको गति तीव्र हुने बताएका छन् । बुटवलमा नेकपाले आयोजना गरेको शुभकामना सन्देश सभामा उनले सरकार गठनपछिको केही समय अप्ठेरो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकार ‘फूल फ्लेज्ड’मा काम गर्ने दावी गरे ।

‘त्यतिबेला वर्षाको बेला थियो, पिच गर्न नि नपाइने । अरु काम गर्न पनि अप्ठेरो, त्यसैले सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाउनुपर्‍यो,’ उनले भने,’ अब मौसम फेरिएको छ । अब गाडी २-३ नम्बर गियर हिँडछ । फूल फ्लेज्डमा चल्नेवाला छ । कसैले रोक्न सक्दैन ।

उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे । उनले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै उनले सबैले सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए । नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको तर्क गर्दै उनले चीनसँगको पारवाहन सम्झाैंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्ने दावी गरे ।

दाहालले अबको युग विकासको युग भएको समेत बताए । सरकारले काम गर्न सकेन भनेर र विभिन्न विवाद देखाएर प्रतिक्रियावादीहरुले तिललाई पहाड बनाएको आरोप लगाए ।

प्रचण्डले सात वटा प्रदेशमध्ये प्रदेश ५ विकास र समृद्धिका दृष्टिले सबैभन्दा बढी सम्भावना प्रदेश भएको बताए । कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेल, प्रदेश ५ इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य एवं संघीय कृषि मन्त्रि चक्रपाणी खनाल, प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतले मन्तव्य राख्दै नेतृत्वले दुई तिहाई वहुमतको सदुपयोग गर्नुपर्ने धारणा राखे ।