काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार निक्कै भीड देखिन्थ्यो । त्यो खचाखच भीडमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकमात्रै थिएनन् ।
विभिन्न राजनीतिक दलका नेता, सांसद, संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, उद्योगपति, पेशाकर्मी, नागरिक समाजका अगुवा पनि थिए ।
कांग्रेसले दशैं, तिहार, छठपर्वको अवसरमा गरेको चियापान कार्यक्रमको उपस्थिति हेर्दा लाग्थ्यो सिंगो देशको प्रतिनिधित्वि थियो । चियापानमा आएका शीर्ष नेताहरुले छोटो-छोटो प्रतिक्रिया दिए । तर, कांग्रेस नेताहरुको भन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुका भाषण सञ्चारमाध्यममा हावी भए ।
चियापान प्रवेश स्थलमा लाइनबद्ध उभिएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, चित्रलेखा यादवलगायतका कांग्रेसका शीर्ष नेताहरुसँग शुभकामना साटासाट गरेपछि प्रचण्डले विगतमा पनि कांग्रेस-कम्युनिस्ट मिल्दै आएको र अब पनि मिलेरै आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । ‘सानो चित्त गर्न भएन । नेपाली कांग्रेससँगै मिलेर शान्ति प्रक्रियामा आएका हौं’, अब देशको आर्थिक समृद्धि पनि सबै मिलेर गर्नुपर्छ’, प्रचण्डले भने ।
उनले राजनीतिक दलहरुले मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको उल्लेख गरे । ‘हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट अपिल गर्न चाहन्छु’ उनले भने ।
चियापानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पुगेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी पनि चियापानमा पुगेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायतले चियापानमा सहभागी हुन आएका पाहुनाको स्वागत गरेका थिए ।

