शनिबार, बैशाख १९, २०८३

प्रधानमन्त्री ओली पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनपछि आज साँझ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुनु भएको हो ।

विहिवार साँझबाटै उहा पूर्ण रुपमा स्वास्थ्य हुनु भएपनि थप निगरानीका लागि आजसम्म राखेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था चेक गरिरहेका चिकित्सकको केहीबेर अघि बसेको बैठकले उहालाई डिस्चार्ज गर्ने निर्णय गरेका हुन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार विहिवार साँझबाटै उहा पूर्ण निको भएपनि संक्रमण हुन सक्ने आशंकाका कारण निगरानीमा राख्नु परेको बताउनु भयो ।

शुक्रबार विहानका रिपोर्टमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको देखिएको थियो । उहाले मंगलबारदेखी विहानका नियमित कामहरु आफै गर्नुभएको थियो भने सोही साँझबाट उहाले खाना समेत खान थाल्नु भएको थियो । त्यसपछि विस्तारै उहाको स्वास्थ्यमा क्रमिक सुधार भएपनि चिकित्सकले संक्रमण बढ्ने खतरा रहेको भन्दै तत्काल डिस्चार्ज गर्न नमिल्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले भने आफुलाई चाडै डिस्चार्ज दिन समेत आग्रह गर्दै आउनु भएको थियो । सो समयमा चिकित्सकले संक्रमण बढ्ने खतराका कारण केही सिमित व्यक्ति बाहेक अन्यलाई भेट्न समेत रोक लगाएको थियो ।

डिस्चार्ज भएपछि पनि चिकित्सकहरुले अहिले प्रधानमन्त्रीलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिएका छन् ।