हेटौंडा ।प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।
बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।मु ख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अन्तर्गत स्थापितलाई पदमुक्त गरेका हुन्।
स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं गएका थिए। उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन् ।
त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए । स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।
‘अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहान नगर्ने भएकाले हटाइएको हो,’ पौडेलले भने। मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोप लाग्दै आएको थियो।

