शनिबार, बैशाख १९, २०८३

नयाँ शक्तिले जनयुद्धभन्दा उन्नत जनसंघर्ष गर्छ : भट्टराई

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् ।

राजधानीमा बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे । ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं । राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे । सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको उनले बताए ।

कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।

आफुले यूरोप, अमेरिका भ्रमण गरेको आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा बढी सम्मान र सत्कार पाएको पनि जिकिर गरे । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त मिल्दैन’ उनले भने, ‘तर मलाई तपाईँले प्रधानमन्त्रीले भन्दा बढी सम्मान पाउनुभयो भनेर अरुले सुनाए । त्यसकारण हामी कम छैनौं ।’

नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्‍याइने कार्यलाई प्राथमिकता दिइने उनले बताए ।