शनिबार, बैशाख १९, २०८३

रुपन्देहीका वुद्धिसागर जापानमा सम्पर्क विहिन,खोजिदिन श्रीमतिको आग्रह

टोकियो । रुपन्देही सैनामैना ४ का वुद्धिसागर गौतम जापानमा सम्पर्क विहिन भएका छन् ।

विगत ८ बर्षदेखि श्रीमतिसहित जापानको चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम यही अक्टोबरको ११ तारिकदेखि हराईरहेका र उनलाई देख्नुहुने महानुभावहरुले सम्पर्क गरिदिनु हुन श्रीमती गंगा गौतमले जापानबासी सबै नेपालीहरुसंग आग्रह गरेकी छन् ।

उनले श्रीमान हराएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म केहि पत्ता लागेको नलाग्दा मनमा चिसो पसेको बताइन । कहि कतै देख्नुहुने महानुभावले यथासिघ्र सम्पर्क गर्नुहुन उनले अनुरोध समेत गरेकी छन् ।

११ तारिकको बेलुकी श्रीमती कामबाट फर्कंदा उनी कोठामा थिएनन् । केहीदिन साथिभाईकोमा गएको ठानि बाटो हेरेर आफन्त तथा चिनेजानेकोमा खवर गरेपनि केही जानकारी नपाएपछि आफुले पाँचौं दिन प्रहरी बिटमा गएर रिपोर्ट लेखाएको गंगाको भनाई छ । करिब ८ वर्ष अगाडि जापान आएका वुद्धिसागर विगत ५ वर्षदेखि श्रीमती गंगासँगै जापानमा बस्दै आएका थिए । नेपालमा उनको आमा, दुई छोरा छन् ।
बेलाबखत सामान्य घरायसी बिवाद हुँदा जापानमा कसैले थाहा नपाउने ठाउँमा गएर बस्छु भन्ने गरेका बुद्धिसागर पछिल्लो केही महिना यता भिसामा समस्या रहेकाले तनाबमा रहेको श्रीमती गंगाको भनाई छ ।

नोभेम्बर ६ तारिखमा भिसा सकिने भएकाले सोही मितिमा नेपाल फर्कनको लागि दुईवटा हवाई टिकट समेत बुकिगं गराईसकेका बुद्धिसागरले टिकट भने नलिइसकेको बुझिएको छ ।

अरुसंग लिन र दिन बाँकी पैसा पनि कापिमा लेखेर छोडेको पाएपछि श्रीमतिले आफुलाई डर लागेको बताइन ।
उनलाई देख्नुहुनेहरुले सम्पर्क नम्बर ०८०६५१०४०४१ श्रीमती र ०८०–३६०८–७४४२ मा रामजी गौतमलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।