लिस्बन । पोर्तुगलमा ‘हाम्रो नेपाल’ मासिक पत्रिकाको विमोचन हुने भएको छ । नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलले कार्यक्रमको जानकारी दिएको हो ।
सम्पादन समूहका सदस्य भगवान गिरीले भने, ‘एक महिना हल्का रमाइलो, हल्का ख्यालठट्टा, केही गम्भीर वहस, केही कुराकानी, केही अनुरोध, केही सरसल्लाह गरिएको यत्ति हो ।’ गिरीले हाँस्दै थपे, ‘सयौ शुभचिन्तकको विज्ञापन वा शुभकामना, पत्रकार साथीहरुको दमदार लेख, रचना र सामग्री सङ्कलन गरेर पत्रिकाको खाका बनाउदा हामीलाई गह्रुङ्गो जिम्मेवारी थपिएको छ ।
पत्रिका शुरुवात गर्दाका रमाइला किस्सा र अनुभूतिहरुसहित एउटा नमूना कार्यक्रम गर्दै छौं । कार्यक्रम अक्टुबर १७ तारिख बुधवार एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा हुनेछ । सञ्चारकर्मी यादव देवकोटाले सबैसँग अनुरोध गरे । यो तपाईहरुको आफ्नै पत्रिका हो, अनि तपाईहरुको आफ्नै कार्यक्रम, त्यसैले तपाईहरु सबैलाई चुले निम्तो छ !
‘मलाई लाग्थ्यो, यो पत्रिकामा दुई चारजना नेता र अगुवाहरुको विचार समाचार अटाइएला एक दर्जन जत्तिका लागि हेर्न मन लाग्ने होला, अरुले त ख्वै के पढ्नुहोला र पत्रिकामा ? फेरि अनलाइनको जमाना जो छ !’ अर्का सदस्य गणेश पाण्डेय पत्रिका प्रकाशन भएपछि प्रफुल्लित छन् । ‘आज नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलले पत्रिकाको समीक्षा गर्दा गर्व गर्यौ हामीले । हाम्रो नेपाल पत्रिका पोर्तुगलका हजारौं नेपालीको पत्रिका बन्ने निश्चित छ । जबरजस्त ग्राहक बनाउनुपर्ने छैन । शुरुवात अङ्कमा १००० प्रति छापिएकोमा यसलाई निरन्तरता दिने योजना बनाएका छौं ।’
पहिलो अङ्कमै महिलाहरुको सवाल र अस्तित्वलाई हार्दिकताकासाथ ग्रहण गरेकोमा हाम्रो नेपाल मासिक पत्रिकाप्रति क्लबकी सदस्य पुनम गौतम आभार प्रकट गर्छिन् । व्यस्त जीवनमा पनि समय निकालेर यत्ति गुणस्तरीय पत्रिका निक्लन्छ होला भनेर मैले सोचेकी थिइनँ, पुनम पत्रिकादेखि पूर्ण सन्तुष्ट छिन् ।
सञ्चारकर्मी एवम सम्पादन समूह सदस्य राजकुमार थापाका अनुसार बालबालिकादेखि ७० वर्षीय बुढाबुढीसम्म सबैको अपनत्व महशुश गर्ने पत्रिका बनाएका छौं । आगामी अङ्कदेखि थप रोचक स्तम्भहरुको शुरुवात गर्ने क्लबले जनाएको छ ।

