शुक्रबार, चैत १६, २०८०

हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन

भक्तपुर। भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१६ टन फोहर सङ्कलन भएको जानकारी दिँदै उहाँले भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने राधेराधे क्षेत्रको हनुमन्ते पुलमुनि र त्यस आसपास क्षेत्रमा सरसरफाइ गरिएको जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा आज १३ विभिन्न सङ्घसंस्था र २७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताउनुभयो ।

कलाकार बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

हनुमन्ते सफाइ अभियानका अभियन्ता एवं नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । सफाइ अभियान शुरु हुनुभन्दा अघि आज सफाइ अभियन्ताहरूले उहाँको तस्वीरमा माल्र्यापण एवं पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका अभियन्ताले बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियोे ।

कार्यक्रममा नगरप्रमुख थापाले हनुमन्ते सफाइ अभियान शुरु भएको दिनदेखि नियमित रूपमा सफाइ अभियानमा सहभागी हुनुभएका र सामाजिक कार्यमा समेत क्रियाशील हुनुभएको कलाकार बोगटीको आकस्मिक निधनले अपूरणीय क्षति पु¥याएको बताउनुभयो । गत २३ गते मध्यपुरथिमि नगरपालिका–१ जडिबुटी एवं टीकाथलीको सङ्गमस्थलमा रहेको हनुमन्ते खोला किनाराको वरपिपलको रुख काट्ने क्रममा रुख ढलेर ट्रान्सफर्मरसहितको पोल ढलेर किच्दा बोगटीको निधन भएको थियो ।