शुक्रबार, बैशाख ०७, २०८१

साँघुरा पुलका कारण दुर्घटना वृद्धि

परासी । भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको यात्रुको गुनासो छ ।

यही पुलका दुर्धटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्ड औद्योगिक क्षेत्रको रूपमा परिणत हुँदै जानुका साथै सुनौली भन्सार हुँदै ४०÷५० टन सामग्री बोकेर आउने ट्रकको आवतजावत पनि यसै सडकमा बढी हुने गरेको छ । क्षमताभन्दा बढी भारका कारण सो पुल दिन प्रतिदिन कमजोर बनेको छ ।

पुल छेउछाउमा ट्राफिक चिन्ह्समेत नहुँदा विशेषगरी रातको समयमा आवातजावत गर्ने सवारी साधनले सो पुलमा जोखिम मोल्नु परेको छ । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो सडक सडक बोर्डअन्तर्र्गत पर्ने भएकाले तत्काल निर्माण गर्न निर्देशन दिने बताउनुभयो ।

एशियाली विकास बैंकको सहयोगमा सो सडक निर्माण भएको हो । सडक निर्माण कम्पनीले सडक खण्डभित्र पर्ने पुल निर्माण नगरेका कारण पुलको अवस्था जीर्ण बनेको छ ।