शनिबार, बैशाख १९, २०८३

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं ४ द्वारा यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माणमा लाग्न सबैसँग अपिल गर्नुभयो ।

विविध जातजाति, भाषाभाषी, रहनसहन, संस्कृति भएको देश नेपालमा सामाजिक सद्भाव बचाउने गरी चाडपर्व मनाउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनताको भावनाअनुसार तीनवटै तहका जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । वडा नं. ४ का अध्यक्ष मोहनबहादुर विष्टले आफ्नो वडाले अहिलेसम्म बाटो निर्माण, पार्कहरूको निर्माण, ढल व्यवस्थापनलगायत विविध स्थानीय समस्या समाधान गर्दै आएको बताउनुभयो ।

काठमाडौँ प्रतिनिधिसभा निर्वाचन नं ५ अन्तर्गत पर्ने वडा नं ४ को पूर्वमा धोबीखोला, पश्चिममा महाराजगञ्जस्थित लक्ष्मी निवासको प्यारा कम्पाउण्ड, कामपा २ र ३ वडा, उत्तरमा चक्रपथ कर्णाली होटल र बूढानीलकण्ठ नगरपालिका तथा दक्षिणमा विशालनगर, भाटभटेनी र टुकुचा खोला पर्दछ ।

विभिन्न धार्मिक तचथा ऐतिहासिक महत्वका स्थलहरु रहेको यस क्षेत्रमा प्राचीन तथा प्रख्यात टुँडालदेवी, लिच्छवीकालीन ध्रूम्रबाराही, चुनदेवी, पञ्चकुमारी, बालुवाटार महादेवस्थान, शिवस्थली, टुसालेश्वर, चन्द्रेश्वर महादेवजस्ता मन्दिर रहेका छन् ।