शुक्रबार, चैत १६, २०८०

काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा.कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताउनुभएको छ । उहाँले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माँया गर्ने स्वभावको भएकोले विगतमा काङ्ग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनु पर्छ भन्नुभयो ।

प्रदेश नं १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका सहनीय छ भन्नुभयो । काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई विश्वास दिलाउन नसकेका कारण पार्टी कमजोर भएको धारणा राख्नुभयो ।
युनियन(सङ्घ) प्रदेश नं १ का सभापति दिपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सङ्घका मोरङका अध्यक्ष चन्द्रप्रसाद कट्टेलले पनि बोल्नु भएको थियो । दुई दिने सो प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका करीब ३०० सङ्घसँग आवद्ध कर्मचारीको सहभागिता छ ।