शुक्रबार, बैशाख ०७, २०८१

छात्रालाई सेनेटरी प्याड

अछाम। छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ ।

वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजु गुरुङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो । जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गएकाले स्वास्थ्यकर्मीको पहलमा विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको छ । महिनावारी हँुदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर आफूले व्यक्तिगत रुपमा प्याड उपलब्ध गराएको डा गुरुङले बताउनुभयो ।

विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने बेला आएको बताउनुभयो । महिनावारी भएका बेला विद्यालय आउने छात्राले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरुले पनि थाहा नपाउने सिउडी माविका प्रधानाध्यापक रमेश धानुकले बताउनुभयो ।