बिहिबार, बैशाख ०६, २०८१

पार्टीभित्रको अन्तरविरोधका कारण काङ्ग्रेस कमजोर : निधि

काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको अन्तरविरोधका कारण काङ्ग्रेसले निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ ।

काङ्ग्रेस राप्ती गाउँपालिकाले दाङको मौरीघाटमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले तीन तहको निर्वाचन अन्तरविरोध तथा व्यक्तिगत स्वार्थले गर्दा पार्टी कमजोर हुन लागेको तर्क गर्नुभयो ।

संविधान निर्माणदेखि तीनवटै तहको निर्वाचन गराउन हामी सफल भएका छौँ, पार्टीले हारेको छ तर देशले जितेको छ, उहाँले भन्नुभयो । निधिले अब सबै अन्तरविरोधलाई मेटाउँदै पार्टीलाई पहिलो पार्टी बनाउनेतर्फ लाग्न कार्यकर्तालाई आह्वानसमेत गर्नुभयो ।

फरक प्रसङ्गमा उपसभापति निधिले देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार, हत्या, महङ्गी, करवृद्धि सबैको मार जनताले खेपिरहेको भन्दै उहाँले अब सडक र सदनबाट त्यस्ता गतिविधि अन्त्यका लागि काङ्ग्रेसले आवाज उठाउने जानकारी दिनुभयो ।