रेडियोकर्मी तामाङ सहितको टोलीद्वारा मनास्लु हिमाल आरोहण

सोलुखुम्बु । सोलुखुम्बुस्थित रेडियो चोमोलोङमा सञ्चालक समितिका सदस्य एवं सोलु एफएमका प्रतिनिधि किताब सिं तामाङ सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । १० नेपाली र चार विदेशीसहित १४ जनाको टोलीले उक्त हिमाल आरोहण गरेको आरोही किताब सिं तामाङले जानकारी दिनुभयो ।

निरिका एडभेञ्चर प्रा.लि.का निर्देशक शतिमान नेवारको नेतृत्वको टोलीले शनिबार बिहान ८ः३० बजे हिमालको सफल आरोहण गरेको हो । आरोही दलमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ का लाक्पा तामाङ, काजीमान तामाङ र सोमछिरिङ तामाङ रहनुभएको छ ।

यस्तै सङ्खुवासभाका दोर्जिवाङ भोटे, डन्सा भोटे, छेसाङ भोटे, टङ्क गुरुङ र थुनाङ लोमी रहनुभएको छ । मनास्लु हिमाल संसारकै आठौँ र नेपालको सातौँ अग्लो हिमालको सूचीमा छ । यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । उक्त हिमाल आरोहण गर्न भदौ २५ गते आरोही टोली गोरखातर्फ गएको थियो । रेडियोकर्मी तामाङ ट्रेकिङ गाइडसमेत हुनुहुन्छ । उहाँले यसअघि पाँच पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया