शुक्रबार, चैत १६, २०८०

विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम

काठमाडौँ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।

सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो ।

आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

नाट्टा अध्यक्ष सिएन पाण्डेले उक्त दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घ संस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताउनुभयो । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
सोही अवसरमा भोलि आइतबार नाट्टाको केन्द्रीय कार्यालय नक्सालमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।