शनिबार, बैशाख १९, २०८३

विद्युत प्राधिकरणमा आफ्नो दुईवर्षे कार्यकाल सफल : घिसिङ

काठमाडौं,३ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ ।

‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको यो दुई वर्षमा मैले जे जति काम अघि बढाउँछु भन्ने थियो, त्यो सोेचेअनुरुप नभए पनि सफलतापूर्वक नै भयो । धेरै कुराको जटिलताको बीचमा जे जति काम अघि बढ्यो, त्यो सफल नै मान्नुपर्छ,’ घिसिङले भने ।

दुई वर्षको अवधिमा दुईवटा महत्वपूर्ण काम गर्न आफू सफल भएको घिसिङले बताए । उनले भने- ‘यो दुई वर्षमा दुईवटा महत्वपूर्ण काम भएका छन् । एउटा लोडसेडिङको अन्त्य भयो, अर्को प्राधिकरणलाई नाफामा लैजान सकियो । यी दुई कुरा अरुभन्दा ठूला उपलब्धी हुन् । हामीले आउना साथै पनि यही दुईवटा कुरा भनेका थियौं । जुन लक्ष्य एक आर्थिक वर्षमै प्राप्त भयो ।

घिसिङले आफ्नो कार्यकालको समीक्षा गर्दै भने- ‘सबै क्षेत्रमा लोडसेडिङ हटाउन पनि सक्यौं । केही प्रोजेक्टहरु तीव्र रुपमा अघि बढाइयो । प्राधिकरणभित्रको व्यवस्थापनलाई पहिले भन्दा स्मार्ट बनाउन खोज्यौं । सर्भिस डेलिभरीमा सुधार ल्यायौं । अरु धेरै कुरा पनि छन्, जो पहिलेभन्दा सही मार्ग र पाइपलाइनमा आएका छन् ।

तर, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक विषयमा प्राधिकरणभित्र आफूले सोचेजस्तो काम गर्न नसकेको उनले बताए । ‘केही काम जुन हिसाबले अपेक्षा गरिएको थियो, त्यसनुसार भएन’ घिसिङले अनलाइनखबरसँग भने, यो यो प्रोजेक्ट आउँछन् अघि बढ्छन्, दुई चारवटा प्रोजेक्ट निर्माणमा जान्छन् भन्ने थियो, त्यो भएन । थोरै ढिलाइ भएको छ । प्राधिकरणभित्रको आन्तरिक सुधार पनि यसरी गर्छु भन्ने थियो, त्यसमा पनि समयको सीमितता र आफ्नो व्यवहारमा परिवर्तन गर्ने कुरामा कर्मचारीको हिच्किचाहट लगायतका कारणले सोचेजति परिवर्तन भएको छैन ।’

तथापि आफूले गर्न खोजेको कुरा सही बाटोमा गएको छ र संस्थाभित्र ‘राइट म्यान, राइट प्लेस’ भएको घिसिङको दाबी छ । घिसिङले आफ्नो दुईवर्षे कार्यकालको यसरी समीक्षा गरेका छन ।