काठमाडौं,३० भदौ । दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् ।
व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुन्छन् । बाँकी सबै भारत र चीनकै भर पर्नु अवस्था छ ।
नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी दशैंमा ठूलो मात्रामा मासुको माग बढ्ने भएकाले भारतबाट खसीबोका नल्याइ सुखै नहुने बताउँछन् । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको उनको भनाइ छ ।
यसपटक दशैंमा झण्डै ५० हजार भन्दा बढीको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा आयात गर्ने तयारी छ । गत वर्ष पनि झण्डै दशैंमा झण्डै ४५ हजार खसीबोका आयात भएको व्यवसायी बताउँछन् ।
त्यस्तै, दशैंमा अधिक खपत हुने राँगाभैंसी भने कति आयात हुन्छ, त्यसको आँकडा व्यवसायीसँगै छैन । ‘यो वर्ष गतवर्षभन्दा करिब ५ हजार बढी खसीबोका आयात हुन्छ भन्ने अनुमान छ ,’ संघका अध्यक्ष खड्गीले भने ।
खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमी/नवमीअघिको एक सातामामात्र झण्डै करोडौं रकम रुपैयाँ बाहिरिने व्यवसायी बताउँछन् ।

