शुक्रबार, बैशाख १४, २०८१

विमस्टेकको चौथो सम्मेलनमा गरिबी निवारण : प्रधानमन्त्री ओली

काठमाडौं,१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् ।

शिखर सम्मेलनको पूर्व सन्ध्यामा मंगलबार संसद्लाई सम्बोधन गर्दै ओलीले दिगो विकासलाई प्राथमिकताका राखेकोसमेत बताएका हुन् ।

१४ र १५ भदौमा काठमाडौंमा हुने सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए । त्यसमध्ये गरिबी निवारणको नेतृत्व नेपालले गर्दै आएको छ ।

औपचारिकताका लागि नभई पहुँच विस्तारको अपेक्षा सहित सम्मेलन आयोजना गरिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘विमस्टेकको लक्ष्य हासिल गर्नका लागि सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरेका छौं ।’