Nepali date


बुधबार, कार्तिक २७, २०७६

कर नबढाउन राजपाका जनप्रतिनिधिलाई पार्टीको निर्देशन

सप्तरी,१२ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई कुनै पनि बाहनामा कर नबढाउन निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखहरुसँगको छलफलमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरुले जनतालाई समस्या हुने गरी कुनै किसिमको कर निर्धारण नगर्न निर्देशन दिएका हुन् ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार पार्टीले नयाँ कर नथप्ने र पुरानै करलाई ग्राहयता दिन निर्देशन दिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले अहिलेसम्म कुनै किसिमको कर वृद्वि नगरेको बताएका छन् । उनीहरुले जनतालाई अहित हुने किसिमको कुनै निर्णय नगर्न आफूहरु सचेत रहेको बताए ।

छलफलको पहिलो दिन सोमबार स्थानीय तहको करकै बिषयमा छलफल भएको महासचिव मनिष सुमनले जानकारी दिए । बैठकमा प्रदेश २ मा राजपाको तर्फबाट निर्वाचित भएका स्थानीय तहका सबै प्रमुख र उपप्रमुखलाई बोलाइएको छ ।

नेताहरुले शहीदका परिवारका एक जनालाई अनिवार्य रोजगारी दिनसमेत निर्देशन दिएको छ । ‘आ-आफ्ना स्थानीय तहमा शहीद परिवार भए उनीहरुलाई अनिवार्य रुपमा रोजगारी दिने निर्णय बैठकमा भएको छ’ राजविराज नगरपालिकाका मेयर यादवले भने, ‘मेयर, उपमेयर र वडा अध्यक्षको मासिक तलवबाट पार्टीलाई लेबी बुझाउने निर्णय पनि गरिएको छ ।’

यस्तै समझदारी र समन्वय गरेर स्थानीय तह सञ्चालन गर्ने, बाढीको सम्भावित क्षतितर्फ ध्यान दिने र जनताको भावना अनुसार नीति र कार्यक्रम बनाउने विषयमा पनि छलफल भएको छ ।

यस्तै संविधान संशोधन गराउनेतर्फ भूमिका खेल्न स्थानीय तहका प्रमुखहरुलाई राजपाले निर्देशन पनि दिएको छ ।

राजपा जनप्रतिनिधिहरुको बैठकमा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले हालसम्म कुनै किसिमको कर नबढाएको बताए । यद्यपी उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले जसरी पनि कर संकलनलाई तीब्र बनाउन निर्देशन दिएको बैठकमा सुनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया