काठमाडौं ,११ भदौ । कोसीपारि÷चौरीदेउराली गाउँपालिका–७, मादनकुँडारी (साविक मादनकुँडारी गाविस) मा रहेको सिर्जनशील जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेला भक्तपुरमा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न उक्त भेलाले विद्यालय तथा गाउँको वृहत्तर विकासको लागि सिर्जनशील जनता मावि एलुम्नाई एशोसियसन समेत गठन गरेको छ ।
केही हप्ता अगाडि गठन भएको भेला आयोजक समितिका संयोजक सत्यमान लामाको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह लामाले यो भेला विद्यालयले गर्नुपर्नेमा पूर्व विद्यार्थीहरू आफैंले गरेकोमा खुसी व्यक्त गरे र विद्यालयको हितको निम्ति यो भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिँदै उनले भने, ‘आज गठन गर्ने समूह अथवा संस्थालाई मेरो तथा विद्यालय व्यवस्थापन परिवारको तर्फबाट अग्रिम बधाई तथा शुभकामना छ ।’
प्रमुख अतिथि लामाले पछिल्लो समयमा आएर गुणस्तरीय शिक्षाको सन्दर्भमा विद्यालयका शिक्षकहरूसँग आफ्नो द्वन्द्व भएको तर आफू जहिले पनि गुणस्तरीय शिक्षा हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । विद्यालयको अवस्थाको बारेमा कोट्याउँदै लामाले अहिले विद्यालयमा अत्यन्त कमजोर शिक्षकहरू छन्, शिक्षाको गुणस्तर खस्किरहेको बताउँदै कार्यरत शिक्षकहरूलाई पुरातनवादी भएको आरोप समेत लगाए । उनले भने, ‘आईटी शिक्षक भनेर मैले विद्यालयमा पठाएकोे तर विद्यालय प्रशासनले सूचना प्रविधि शिक्षक रहेछन्, आईटी होइन रहेछ भनेर फिर्ता पठाए ।’ हाम्रा शिक्षकहरूको क्षमता यस्ता छन् । यो अवस्थालाई सुधार्नु अति आवश्यक छ ।
‘रामेछापको विद्यालयमा कार्यरत पूर्व विद्यार्थी राजीव लामाको नाम तोकेरै विद्यालयको गुणस्तरीयता बढाउनको लागि आउनको लागि आग्रह गरेको घटनालाई स्मरण गर्दै पुनः आउनको लागि आग्रह गर्दछु ।, तपाईहरूले पनि राजीवलाई सम्झाउन अनुरोध समेत गर्दछु ।’ लामाले भने । लामाले एक अर्को प्रसंगमा विद्यालय व्यवस्थापनको नेतृत्व लिनको लागि समुदायको कुनै पनि व्यक्ति तयार नभएको, बाध्यताले आफ्नो परिवारले लिनुपरेको बताए ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक घटुजराज गिरी पूर्व शिक्षक तथा प्रभा एलुम्नाईका महासचिव जितराम लामा, कोषाध्यक्ष गोकुल गौतम, विद्यालयका शिक्षक विगाराम लामा लगायतले मन्तव्य राख्दै विद्यालयको गुणस्तर वृद्धि तथा वृहत्तर हितको काम गर्ने एउटा सशक्त समूह स्थापना गर्न सन्देश दिँदै बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा शान्ति लामाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बुद्धवीर लामाले गरेका थिए । भेलामा भेला आयोजक समितिका संयोजक सत्यमान लामाले कार्यपत्र प्रस्तुत गरेका थिए । भेलामा नै पूर्व विद्यार्थी बुद्धवीर लामा र विकल्प लामाले आफूले सक्ने विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेलाले पासाङ लामालाई अध्यक्ष चयन गरेको छ । उक्त एशोसियसनको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश सत्यमान लामा, शान्ति लामा, बुद्धवीर लामा, निङ्मा लामा, सफलकुमार गौतम र अस्मिता लामा रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा जितबहादुर लामा मरिचमान लामा, रमेश लामा तामाङ, बिमला लामा, दीपक गौतम, लिलाप्रसाद गौतम, गोमारानी लामा, प्रकाश चौंलागाई, विकल्प लामा, हेमन्त तामाङ, नम्रता लामा, मोहन गौतम, लक्ष्यु लामा, मोहन लामा, निखुरी लामा, कल्पना चौंलागाई, बिमला गौतम र प्रविणा लामा रहेका छन् ।

